तरुण खबर
३० भाद्र २०८२, सोमबार १०:१७
काठमाडाैं, ३० भदाै । हालै देशव्यापी रूपमा भएको आन्दोलन र प्रदर्शनले नेपालको अटोमोबाइल क्षेत्रमा गहिरो असर पारेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ।
नाडले एक विज्ञप्ति जारी गर्दै कर्मचारी, ग्राहक र समग्र व्यवसायको सुरक्षामा चिन्ता बढेको उल्लेख गरेको छ। अटोमोबाइल क्षेत्रलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन र व्यावसायिक समुदायको सुरक्षालाई प्राथमिकता दिन नाडाले सरकारसँग आग्रह गरेको छ।
हालको अस्थिर परिस्थितिले उपभोक्ताको विश्वासमा नकारात्मक असर परेको र यसको दीर्घकालीन प्रभाव लगानी तथा रोजगारीमा पर्न सक्ने भन्दै नाडाले सचेत गराएको छ। यस्तो अवस्थामा सबै पक्षबीच संवाद र सहमतिको माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने नाडाको आग्रह छ।
नाडाले आफ्ना सदस्य कम्पनी र उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै, जिम्मेवार नेतृत्व, सकारात्मक संवाद र एकताबद्ध प्रयासबाट देशमा छिट्टै स्थायित्व आउने विश्वास व्यक्त गरेको छ।
यसैबीच, नाडाले आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ। साथै, देशको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएकी सुशीला कार्कीलाई नाडाले बधाई दिएको छ।


