तरुण खबर
३० भाद्र २०८२, सोमबार १०:४७
काठमाडाैं, ३० भदाै । देशव्यापी रूपमा भएको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोडबाट क्षतिग्रस्त भौतिक संरचनाको मूल्याङ्कन तथा पुनर्निर्माणका लागि नेपाल इन्जिनियर्स एसोसिएसनले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
एसोसिएसनका महासचिव विनोद प्रकाश पण्डितले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको मूल्याङ्कन र पुनर्निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराइने जानकारी दिए। उनले १९९० र २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा नेपाली प्राविधिक जनशक्तिको मेहनत, श्रम र विशेषज्ञता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस प्रकारको सहयोगलाई निरन्तरता दिन चाहेको बताए।
एसोसिएसनका अध्यक्ष सुभाष चन्द्र बरालका अनुसार आइतबारदेखि सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र नेपाल बार एसोसिएसनका भवनहरूको प्रारम्भिक मूल्याङ्कन सुरु गरिएको छ। यो मूल्याङ्कनमा भौतिक संरचनाको तत्काल निरीक्षण, जोखिम मूल्याङ्कन, वैकल्पिक व्यवस्थापनको योजना र पुनर्निर्माणका लागि सम्भाव्यता अध्ययन समावेश हुने उनले बताए।


