तरुण खबर
३१ भाद्र २०८२, मंगलवार १०:३९
काठमाडाैं, ३१ भदाै । नेपालको सेयर बजार बुधबार (असोज १ गते) बाट खुल्ने भएको छ। यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको थियो, तर नेपाल धितोपत्र बोर्डको परामर्शपछि उक्त निर्णय परिवर्तन गरिएको हो।
जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र हिंसाका कारण भदौ २४ गतेदेखि बन्द रहेको सेयर बजार अब सञ्चालनमा आउने भएको छ। नेप्सेले जारी गरेको सूचना खारेज गर्दै धितोपत्र बोर्डले बजार खोल्न निर्देशन दिएपछि यो निर्णय भएको हो।
बोर्डका एक अधिकारीका अनुसार, विभिन्न सरोकारवाला पक्षसँगको छलफलपछि नै बजार खोल्ने निर्णय गरिएको हो। यसबारे औपचारिक जानकारी नेप्सेले बोर्डबाट पत्र पाएपछि मात्र सार्वजनिक गर्ने जनाइएको छ।


