तरुण खबर
३१ भाद्र २०८२, मंगलवार १०:४६
काठमाडाैं, ३१ भदाै । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मुलुकको विदेशी विनिमय सञ्चिति बढेर २८ खर्ब रुपैयाँ नाघेको छ। आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउनमा कुल विदेशी विनिमय सञ्चिति रु. २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ।
सञ्चितिमा वृद्धि
२०८२ असार मसान्तमा रु. २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको सञ्चिति साउनसम्ममा ४.८ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा हेर्दा पनि सञ्चिति १९ अर्ब ५० करोडबाट २.७ प्रतिशतले बढेर २० अर्ब ३ करोड पुगेको छ।
कसको सञ्चिति कति?
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति रु. २४ खर्ब १४ अर्ब ६४ करोडबाट ४ प्रतिशतले बढेर रु. २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूसँग (राष्ट्र बैंकबाहेक) रहेको सञ्चिति पनि १२ प्रतिशतले बढेको छ। असारमा रु. २ खर्ब ६३ अर्ब ४ करोड रहेको यस्तो सञ्चिति साउनसम्ममा रु. २ खर्ब ९४ अर्ब ५८ करोड पुगेको छ।
२०८२ साउन मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २३.४ प्रतिशत रहेको छ।


