तरुण खबर
३१ भाद्र २०८२, मंगलवार १०:५१
काठमाडाैं, ३१ भदाै । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा सरकारको चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ठूलो सुधार हो। गत वर्ष साउनमा चालु खाता ३३ अर्ब ८ करोड रुपैयाँले मात्रै बचतमा थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार यो सुधार देखिएको हो।
अन्य वित्तीय सूचकहरू पनि सकारात्मक
अमेरिकी डलरमा हेर्दा पनि गत वर्ष २५ करोड डलरले बचतमा रहेको चालु खाता यो वर्ष ५६ करोड डलरले बचतमा पुगेको छ। यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ रहेको छ, जुन गत वर्ष २२ करोड रुपैयाँ मात्र थियो।
प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि ६९ करोड रुपैयाँ भित्रिएको छ। गत वर्ष सोही अवधिमा यो ८० करोड रुपैयाँ थियो। शोधनान्तर स्थितिमा पनि ठूलो सुधार देखिएको छ। साउन महिनामा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको छ। गत वर्ष सोही अवधिमा यो ४० अर्ब ९० करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा यो स्थिति ६४ करोड डलरले बचतमा छ, जुन गत वर्ष ३१ करोड डलर मात्र थियो।


