तरुण खबर
३१ भाद्र २०८२, मंगलवार १५:०८
काठमाडाैं, ३१ भदाै । मुलुकमा जारी ‘जेन-जी’ संघर्ष र राजनीतिक संक्रमणका बीच व्यापारिक घराना गोल्यान ग्रुपले सुन्दर र समृद्ध नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेको छ। ग्रुपले विगतको सम्मान गर्दै भविष्यका लागि नयाँ बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएको छ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै गोल्यान ग्रुपले अबको यात्रामा साहस, सहकार्य र अटल प्रतिबद्धताको आवश्यकता रहेको जनाएको छ। ग्रुपले भनेको छ, “सबल र समृद्ध राष्ट्र निर्माणका लागि हामी सँगसँगै छौं।”
ग्रुपका अनुसार हालैको संघर्षले आशा र उज्यालो भविष्यप्रति अटल विश्वास बोकेको नयाँ पुस्तालाई जन्माएको छ। “यो नयाँ सुरुवात हो जसले बलिदानलाई सम्मान र न्यायलाई समर्थन गर्दछ र हामी सबैलाई प्रगति तथा समृद्धितर्फ डोर्याउँछ,” सन्देशमा उल्लेख छ।
त्यसैगरी, पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्तिलाई पनि गोल्यान ग्रुपले स्वागत गरेको छ। ग्रुपले कार्कीको नियुक्तिलाई “राष्ट्रको इतिहासमा एक नयाँ अध्याय” को रूपमा चित्रण गरेको छ।


