जनआन्दोलनका शहीदको सम्मानमा देशभर शोक बिदा

जनआन्दोलनका शहीदको सम्मानमा देशभर शोक बिदा तरुण खबर १ आश्विन २०८२, बुधबार ११:१२
जनआन्दोलनका शहीदको सम्मानमा देशभर शोक बिदा

काठमाडाैं, १ असाेज । जनयुद्ध र जनआन्दोलनका शहीदहरूको सम्मानमा आज देशभर शोक बिदा दिइएको छ। सरकारले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूलाई शहीद घोषणा गर्दै असोज १ गते राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको थियो।

सोमबारको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गरेको हो। साथै, उनीहरूको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरिएको थियो। ७२ जना शहीदहरूको शवलाई मंगलबार पशुपति आर्यघाटमा श्रद्धाञ्जली सहित अन्त्येष्टि गरिएको थियो। केही शहीदहरूको शव उनीहरूको गृहजिल्लामा पुर्‍याएर सम्मानका साथ अन्तिम संस्कार गरिएको छ।

शहीदहरूको सम्झनामा राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ। यस दिन देश र जनताका लागि जीवन आहुति दिने वीरहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूप्रति सम्मान प्रकट गरिन्छ। सरकार र नागरिक समाजले शहीदहरूको त्याग र बलिदानलाई सधैँ उच्च सम्मानका साथ स्मरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूको संघर्षले देशमा लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण तथा सुदृढीकरणमा ठूलो योगदान पुर्‍याएको छ।