सेयर बजारमा दोस्रो सर्किट, कारोबार ४० मिनेट ठप्प

सेयर बजारमा दोस्रो सर्किट, कारोबार ४० मिनेट ठप्प तरुण खबर २ आश्विन २०८२, बिहीबार ११:४४
सेयर बजारमा दोस्रो सर्किट, कारोबार ४० मिनेट ठप्प

काठमाडाैं, २ भदाै । लगातारको गिरावटसँगै नेप्सेमा बिहीबार दोस्रो नकारात्मक सर्किट लागेको छ। सेयर बजार ५ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि स्थगित भएको हो।

‘जेनजी आन्दोलन’पछि खुलेको सेयर बजारमा आज सुरुदेखि नै गिरावट देखिएको थियो। कारोबार सुरु भएको दुई मिनेटमै बजार ४ प्रतिशतले घटेपछि पहिलो नकारात्मक सर्किट लागेको थियो। त्यसपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो।

पहिलो सर्किटपछि कारोबार पुनः सुरु भए पनि बजारमा सुधार आउन सकेन। त्यसको केही समयमै बजार ५ प्रतिशतले घट्दा दोस्रो नकारात्मक सर्किट लाग्यो र कारोबार ४० मिनेटका लागि रोकिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमानुसार, कारोबार सुरु भएको पहिलो घण्टाभित्र बजार ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित हुन्छ। दोस्रो घण्टाभित्र ५ प्रतिशतले घटबढ भएमा ४० मिनेटका लागि कारोबार रोकिन्छ। यदि बजार ६ प्रतिशतले घटेमा वा बढेमा भने त्यस दिनको लागि कारोबार पूर्णरूपमा बन्द हुने व्यवस्था छ।