जेनजी आन्दोलनले निम्त्यायो २० अर्बभन्दा बढीको बीमा दावी

जेनजी आन्दोलनले निम्त्यायो २० अर्बभन्दा बढीको बीमा दावी तरुण खबर ३ आश्विन २०८२, शुक्रबार ०९:४०
जेनजी आन्दोलनले निम्त्यायो २० अर्बभन्दा बढीको बीमा दावी

काठमाडाैं, ३ असाेज । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा २० अर्ब रुपैयाँभन्दा बढीको दावी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको दावी परेको छ।

आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापक तोडफोड र आगजनी भएको थियो, जसले गर्दा ठूलो मात्रामा धनजनको क्षति भयो। हिल्टन होटल, भाटभटेनी, एनसेल, सिजी इलेक्ट्रोनिक्स, ग्लोबल कलेज, युलेन्स स्कूल, थापाथलीको सेन्ट्रल बिजनेस पार्क लगायतका कर्पोरेट भवन र धेरै निजी घर तथा सवारी साधनमा क्षति पुगेको छ।

प्राधिकरणका अनुसार, भदौ ३१ गतेसम्म कुल १ हजार ९८४ वटा दावी पेश भएका छन्। सबैभन्दा ठूलो दावी ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। कम्पनीमा हिल्टन होटलमा भएको क्षतिका कारण ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बराबरको दावी पेश भएको छ।

यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोड २२ लाख ७९ हजार ५०० रुपैयाँ, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ४ लाख ७७ हजार, आइजीआई प्रुडेन्सियलमा १ अर्ब ५९ करोड ६ लाख ८० हजार, सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोड ७५ लाख ३१ हजार, हिमालयन एभरेष्टमा १ अर्ब १५ करोड ६२ लाख ८२ हजार, र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख ६५ हजार रुपैयाँ बराबरको दावी परेको छ।

अन्य कम्पनीहरुमा परेका दावीहरुको विवरण यस प्रकार छ:

  • सानिमा जिआइसी: ७८ करोड ९३ लाख
  • राष्ट्रिय बीमा कम्पनी: ४९ करोड ५१ लाख
  • युनाईटेड अजोड: ४८ करोड ७४ लाख
  • नेपाल इन्स्योरेन्स: ४६ करोड ९४ लाख
  • एनएलजी: ३८ करोड ५८ लाख
  • प्रभु: १९ करोड १८ लाख
  • नेशनल इन्स्योरेन्स: ६ करोड ८२ लाख

यसका साथै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, नेपाल माइक्रो, र ट्रस्ट माइक्रो इन्स्योरेन्समा पनि क्रमशः १ करोड १३ लाख, ६७ लाख, ५६ लाख र ४२ लाख रुपैयाँ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ।