युवा पुस्तासँग जोडिएर अघि बढ्नुपर्ने एमाले उपाध्यक्ष पौडेलको भनाइ

युवा पुस्तासँग जोडिएर अघि बढ्नुपर्ने एमाले उपाध्यक्ष पौडेलको भनाइ तरुण खबर ३ आश्विन २०८२, शुक्रबार ०९:४६
युवा पुस्तासँग जोडिएर अघि बढ्नुपर्ने एमाले उपाध्यक्ष पौडेलको भनाइ

काठमाडाैं, ३ असाेज । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले ‘जेनजी’ आन्दोलनपछि युवा पुस्तासँग जोडिएर पार्टीलाई अघि बढाउने जिम्मेवारी आएको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पौडेलले युवाका आकांक्षा, आक्रोश र असन्तुष्टि बुझ्न नसक्नु, साथै भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा सुधार गर्न नसक्नु नै जेनजी आन्दोलनको मुख्य कारण रहेको स्वीकारेका छन्।

“अब हाम्रो जिम्मेवारी युवा पुस्तासँग जोडिएर, जहाँ युवा शक्तिको नीति निर्माण र नेतृत्व विकासमा निर्णायक भूमिका रहन्छ, पार्टीलाई गतिशीलता र परिवर्तनको संवाहक शक्तिको रूपमा स्थापित गर्नु हो,” उनले भने।

पौडेलले पार्टीको सङ्गठन, कार्यशैली र आचरणमा यसअनुसार परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्। उनले पार्टीका विगतका निर्णय, काम र त्यसका परिणामबारे गम्भीर समीक्षा गरिने पनि उल्लेख गरेका छन्।

व्यक्तिगत रूपमा उनले आफूबाट विगतमा भएका कमीकमजोरी र गल्तीप्रति क्षमा मागेका छन्।