अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट राजस्व तिर्न सकिने

अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट राजस्व तिर्न सकिने तरुण खबर ३ आश्विन २०८२, शुक्रबार १०:२९
अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट राजस्व तिर्न सकिने

काठमाडाैं, ३ असाेज । सरकारले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट राजस्व भुक्तानीको सुरुवात गरेको छ। बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले संयुक्त रूपमा राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको सुरुवात गरे।

यो प्रणाली सुरु भएसँगै विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकलाई राजस्व भुक्तानी गर्न सहज हुनेछ। यसले राजस्व भुक्तानी प्रक्रियालाई पेपरलेस र फेसलेस बनाउनुका साथै २४ सै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित गर्नेछ।

सरकारले राजस्व संकलनलाई द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री बनाउनुका साथै डिजिटल इकोनोमीलाई प्रवर्द्धन गर्ने अपेक्षा राखेको छ।

यो प्रणालीमार्फत मास्टरकार्ड, भिसा कार्ड, अलिपे लगायतका अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कमा आबद्ध कार्डहरू प्रयोग गरेर अध्यागमन विभागसँग सम्बन्धित राजस्व भुक्तानी गर्न सकिनेछ। यसबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई यो सेवा लिन सहज हुनेछ।

हाल यो सेवा अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने राजस्व भुक्तानीमा मात्र लागू भए पनि भविष्यमा सरकारका अन्य निकायहरूमा पनि विस्तार गरिने बताइएको छ।