‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएको भए जेनजी आन्दोलन हुने थिएन’– प्रचण्ड

‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएको भए जेनजी आन्दोलन हुने थिएन’– प्रचण्ड तरुण खबर ३ आश्विन २०८२, शुक्रबार १०:५०
‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएको भए जेनजी आन्दोलन हुने थिएन’– प्रचण्ड

काठमाडाैं, ३ भदाै । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था भएको भए हालैको ‘जेनजी’ आन्दोलन र त्यसबाट भएको ठूलो क्षति रोकिने दाबी गरेका छन्। शुक्रबार संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

संविधान २०७२ निर्माणका क्रममा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता भए पनि सहमति हुन नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ। “प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनिएकै हो। त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो, जेनजीले आन्दोलन गर्नु पर्थेन, यति ठूलो क्षति हुने थिएन,” उनले भने।

प्रचण्डले जेनजी आन्दोलनले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानसँग सम्बन्धित मुद्दाहरू सही थिए भन्ने कुरा पुनः प्रमाणित गरेको पनि बताएका छन्। उनले संविधान निर्माणका क्रममा माओवादीले यी विषयमा फरक मत राखेको र अब भविष्यमा संविधान संशोधन गरेर यी एजेन्डाहरूलाई कार्यान्वयन गर्नुपर्ने आधार बनेको बताए।