तरुण खबर
३ आश्विन २०८२, शुक्रबार ११:०३
काठमाडाैं, ३ भदाै । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेनजी’ आन्दोलनमा प्रदर्शनकारीलाई ताकेर गोली हान्ने आदेश सरकारले नदिएको बताएका छन्। संविधान दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले उक्त आन्दोलनमा स्वचालित हतियार प्रयोग भएको र त्यसको गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको थियो, जसमा अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो। ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली प्रहार भएको दाबी गर्दै त्यसको छानबिन हुनुपर्नेमा जोड दिए।
उनले आफ्नो वक्तव्यमा संविधानको महत्त्व र नेपाली जनताले गरेको सङ्घर्षको पनि चर्चा गरेका छन्। ‘संविधान २०७२ नेपाली जनताले आफैँले सङ्घर्ष गरेर प्राप्त गरेका उपलब्धि हो,’ उनले भने, ‘यो संविधान लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित गर्ने माइलस्टोन हो।’
ओलीले संविधान जारी भएपछि नेपाललाई भूपरिवेष्ठितबाट भूजडित बनाउनका लागि उत्तर र दक्षिणका छिमेकी मुलुकसँग यातायात पारवहन सम्झौता गरिएको स्मरण गर्दै मुलुकको सार्वभौमसत्ता र विकासको जग बसालिएको बताएका छन्।
उनले जेनजी आन्दोलनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएर युवाहरूको ज्यान गएको आरोप लगाएका छन्। ओलीले आफ्नो राजीनामापछि सिंहदरबार र नेपालको नक्सा जलाइएको, जनप्रतिनिधि संस्था, अदालत, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयमा क्षति पुर्याइएको उल्लेख गर्दै यसको पछाडिको षड्यन्त्रबारे समयले नै खुलासा गर्ने बताएका छन्।
वक्तव्यको अन्त्यमा उनले सबै पुस्ताका नेपालीलाई एकजुट भएर संविधान र सार्वभौमसत्ताको रक्षा गर्न आग्रह गरेका छन्।


