संविधान दिवसमा अमेरिकाको शुभकामना, जेनजी आन्दोलनप्रति दु:ख व्यक्त

संविधान दिवसमा अमेरिकाको शुभकामना, जेनजी आन्दोलनप्रति दु:ख व्यक्त तरुण खबर ३ आश्विन २०८२, शुक्रबार ११:०९
संविधान दिवसमा अमेरिकाको शुभकामना, जेनजी आन्दोलनप्रति दु:ख व्यक्त

काठमाडाैं, ३ भदाै । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले नेपालको संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले अमेरिकी सरकारको तर्फबाट शुभकामना सन्देश जारी गर्दै नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति अमेरिकाको समर्थन रहेको दोहोर्‍याएका छन्।

रुबियोले आसन्न निर्वाचनको तयारीमा रहेको नेपालमा पारदर्शी सरकार र संविधानको पूर्ण पालना अपरिहार्य रहेकोमा जोड दिएका छन्। उनले हालैका प्रदर्शन (जेनजी आन्दोलन) का क्रममा भएको जनधनको क्षतिप्रति पनि दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

उनले नेपालका जनताले आर्थिक वृद्धि, क्षेत्रीय सुरक्षा र समृद्ध भविष्य पाउनुपर्ने बताएका छन्। उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टले नेपालको यातायात र ऊर्जा पूर्वाधारको विस्तारमा सहयोग पुर्‍याएको, रोजगारी सिर्जना गरेको र दीर्घकालीन आर्थिक वृद्धिलाई गति दिएको उल्लेख गरे। यसले अमेरिका-नेपाल सम्बन्धलाई सुदृढ गर्नुका साथै अमेरिकी व्यवसायका लागि अवसर पनि खुला गरेको उनको भनाइ छ।

रुबियोले दक्षिण एसियामा स्थायित्व प्रवर्द्धन गर्न र सुरक्षित विश्व निर्माणका लागि नेपालसँगको निकट सहकार्यलाई अमेरिकाले निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।