बीमा दाबी छिटो निष्कर्षमा पुर्‍याउने संघको प्रतिबद्धता

बीमा दाबी छिटो निष्कर्षमा पुर्‍याउने संघको प्रतिबद्धता तरुण खबर ३ आश्विन २०८२, शुक्रबार १५:३१
बीमा दाबी छिटो निष्कर्षमा पुर्‍याउने संघको प्रतिबद्धता

काठमाडाैं, ३ असाेज । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएको थियो। संघले जारी गरेको प्रेस विज्ञप्तिमा बीमा गरिएका सवारीसाधन तथा भौतिक संरचनाको यथार्थ विवरणसहित सम्बन्धित निकायमा आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो।

संघका अनुसार हालको अवस्थाले बीमाको महत्व अझै बढाएको भन्दै बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक कदम तीव्र रूपमा अघि सारेका थिए। बीमित सम्पत्तिमा भएको क्षतिको छिटो मूल्यांकन गरी क्षति विवरणको आधारमा दाबी भुक्तानी प्रक्रिया शीघ्र टुंग्याउने संघको स्पष्ट धारणा रहेको विज्ञप्तिमा उल्लेख गरिएको थियो।

संघले देशभर जारी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको र पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको थियो। राष्ट्रपतिको भवन, संसद भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायातलगायतमा भएको क्षतिको गहिरो दुःख प्रकट गर्दै संघले बीमा कम्पनीहरूलाई दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न आह्वान गरेको थियो।

संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू चाँडै बीमा कम्पनीमा बुझाई दाबी प्रक्रिया सहज बनाउन सहयोग गर्न अपिल गरेका थिए। साथै, बीमा कम्पनीहरूले पनि दाबी भुक्तानी प्रक्रिया छिटो टुंगोमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको जानकारी उनले दिएका थिए।

२०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगिता अझ गहिरो रूपमा महसुस गराएको वर्तमान परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक देखिएको अध्यक्ष मल्लले बताएका थिए।