तरुण खबर
५ आश्विन २०८२, आईतवार ११:०७
काठमाडाैं, ५ असाेज । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र हुलदंगाबाट भएको क्षतिको बीमा दाबी भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सुरु गरिसकेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै ‘दु:खद घडीमा भरोसाको सहारा’ बन्नका लागि सकेसम्म चाँडो दाबी भुक्तानी गर्न प्रतिबद्ध रहेको जनाएको छ।
कम्पनीका अनुसार राष्ट्रका पूर्वाधार, उद्योग-व्यापार र व्यक्तिगत सम्पत्तिमा भएको करोडौंको क्षतिपछि बीमा कम्पनीहरूमा ठूलो संख्यामा दाबी परेको छ। यसलाई मध्यनजर गर्दै कम्पनीले भदौ २४ गतेको घटनापछि भोलिपल्टैदेखि उच्चपदस्थ अधिकारी र सर्भेयरको टोली खटाएर क्षतिको निरीक्षण र सर्वेक्षण सुरु गरेको थियो।
हाल कम्पनीले दाबी फर्छ्यौट प्रक्रिया द्रुत गतिमा अगाडि बढाउँदै भुक्तानी समेत सुरु गरिसकेको बताएको छ। कम्पनीले आफ्ना ग्राहकहरूलाई दाबीका लागि आवश्यक कागजातहरू उपलब्ध गराउन आग्रह गरेको छ। साथै, आन्दोलनबाट क्षति पुगेका, तर अहिलेसम्म पनि दाबी गर्न छुटेका बीमितहरूलाई यथाशीघ्र देशभरका शाखा, प्रदेश र प्रधान कार्यालयमा सम्पर्क गर्न आह्वान गरेको छ।
कम्पनीले कठिन क्षणमा बीमाको आवश्यकता पर्ने भन्दै दाबी भुक्तानी प्रक्रिया छिटो र पारदर्शी हुनेमा विश्वस्त हुन अनुरोध गरेको छ। गत वर्षको बाढीपहिरोका कारण सिर्जित दाबी पनि सबैभन्दा बढी भुक्तानी गर्ने कम्पनीमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको कम्पनीले स्मरण गराएको छ।


