काठमाडौं छोड्नेको ताँती: ४३ हजार यात्रुले उपत्यका छाडे

काठमाडौं छोड्नेको ताँती: ४३ हजार यात्रुले उपत्यका छाडे तरुण खबर ६ आश्विन २०८२, सोमबार ११:२७
काठमाडौं छोड्नेको ताँती: ४३ हजार यात्रुले उपत्यका छाडे

काठमाडाैं, ६ असाेज । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्कनेको संख्या ह्वात्तै बढेको छ। दशैंको लागि किनमेल गर्ने र घर जानेहरूको चहलपहलले राजधानीका सडक र बसपार्कहरूमा निकै भीडभाड देखिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै करिब ४३ हजार यात्रुले काठमाडौं छाडेका छन्। यो तथ्यांक आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको हो। सोही अवधिमा लगभग २८ हजार यात्रु भने काठमाडौं भित्रिएका छन्।

घटस्थापनादेखि नै निजी कार्यालय, कलेज र विद्यालयहरूमा बिदा सुरु भएकोले गाउँ फर्कनेको लहर बढेको हो। सरकारले भने दशैंको सार्वजनिक बिदा फूलपातीदेखि दिने गरेको छ।

हालै राजधानीमा भएको जेनजी आन्दोलनपछि केही समय सुरक्षाको चिन्ता देखिए पनि अहिले अवस्था सामान्य बनेको छ। यसले गर्दा पनि गाउँ फर्कनेको संख्या थप बढ्ने अनुमान गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार उपत्यकाका मुख्य नाका र नयाँ बसपार्क क्षेत्रमा अहिले अवस्था सामान्य नै छ। यद्यपि, नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण ४० घण्टासम्म बाटो बन्द हुँदा सवारी चाप केही बढेको थियो। अहिले बाटो खुलिसकेकोले आवागमन सहज हुँदै गएको ट्राफिक अधिकारीहरूले बताएका छन्। दशैं सुरु भएपछि राजधानीको भीडभाड विस्तारै गाउँतर्फ सर्दैछ। मानिसहरू वर्ष दिनपछि घरपरिवार र आफन्तसँग भेट्न हतारिएका छन्।