नेपालको परिवर्तित अवस्थाबारे अर्थमन्त्री र अमेरिकी राजदूतबीच छलफल

नेपालको परिवर्तित अवस्थाबारे अर्थमन्त्री र अमेरिकी राजदूतबीच छलफल तरुण खबर ६ आश्विन २०८२, सोमबार १५:३५
नेपालको परिवर्तित अवस्थाबारे अर्थमन्त्री र अमेरिकी राजदूतबीच छलफल

काठमाडाैं, ६ असाेज । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्पसनबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा नेपालको हालको परिवर्तित अवस्था र अमेरिकी सहयोगका विषयमा छलफल भएको हो।

भेटका क्रममा अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य जिम्मेवारी समयमै निर्वाचन सम्पन्न गर्ने र पुनर्निर्माण तथा सहुलियत प्याकेजमार्फत निजी क्षेत्रको मनोबल बढाउने रहेको बताए। उनले अमेरिकी सरकारले नेपालको सामाजिक–आर्थिक विकासमा पुर्‍याएको निरन्तर सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि सहयोग जारी रहने आशा व्यक्त गरे।

अमेरिकी राजदूत थम्पसनले हालैको घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको बताए। उनले एमसीसी अन्तर्गत सञ्चालित एमसीए नेपाल परियोजनाहरू समयमै सम्पन्न गर्न नेपाल सरकारको थप प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।

जवाफमा, अर्थमन्त्री खनालले ती परियोजनाहरूको सफल कार्यान्वयनका लागि सरकारको तर्फबाट कुनै ढिलाइ नहुने विश्वास दिलाए।

भेटमा अर्थसचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा लगायत दुवै पक्षका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।