वीरगन्ज नाकाबाट २ महिनामा २६ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज नाकाबाट २ महिनामा २६ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात तरुण खबर ७ आश्विन २०८२, मंगलवार ११:२१
वीरगन्ज नाकाबाट २ महिनामा २६ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

काठमाडाैं, ७ असाेज । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा वीरगन्ज नाकाबाट २६ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ भित्रिएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा कुल २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको डिजेल, पेट्रोल, एलपीजी ग्यास, एभिएसन टर्बाइन फ्युल र मट्टितेल आयात भएको हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थको आयातमा १ अर्ब ७६ करोड रुपैयाँको वृद्धि भएको छ। आयातमा भएको यो वृद्धिले राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पारेको छ। चालु आर्थिक वर्षको दुई महिनामा ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको सोही अवधिको भन्दा १ अर्ब २९ करोड रुपैयाँले बढी हो। गत वर्ष सो अवधिमा ९ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

यस अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको देखिन्छ। चालु आर्थिक वर्षको दुई महिनामा ११ अर्ब ९१ करोड रुपैयाँ बराबरको १,३२,८२४ किलोलिटर डिजेल आयात भएको छ, जसबाट ५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिमा १० अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात हुँदा ४ अर्ब ५१ करोड राजस्व उठेको थियो।

यसैगरी, ५ अर्ब १२ करोड रुपैयाँको करिब ५ करोड किलो एलपी ग्यास आयात हुँदा ९६ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यी तथ्याङ्कहरूले देशको अर्थतन्त्रमा पेट्रोलियम पदार्थको आयातले महत्त्वपूर्ण भूमिका खेलेको देखाउँछ।