तरुण खबर
७ आश्विन २०८२, मंगलवार ११:२८
काठमाडाैं, ७ असाेज । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले नेपालको निजी क्षेत्रमा समेत सुधारको आवश्यकता रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले हालै भएको जेन-जी आन्दोलनले निजी क्षेत्रका कमजोरी पनि उजागर गरेको उल्लेख गरे।
जेन-जी आन्दोलनको प्रभाव र पर्यटन क्षेत्रमा सुधारको खाँचो
अध्यक्ष पाण्डेले जेन-जी आन्दोलनका कारण पर्यटन क्षेत्र शिथिल बनेको भन्दै यसको पुनरुत्थानका लागि तत्काल पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए। सरकारले पर्यटनका लागि ‘रिकभरी प्लान’ बनाउनुपर्ने र विदेशी पर्यटकलाई आकर्षित गर्न तीन महिनाका लागि भिसा शुल्क हटाउनुपर्ने उनको सुझाव छ।
उनले आन्दोलनले केही संरचनामा क्षति पुर्याए पनि त्यसभन्दा बढी नोक्सान पर्यटन क्षेत्रको समग्र वातावरणमा पुगेको बताए। पाण्डेका अनुसार जेन-जी आन्दोलनले भ्रष्टाचारविरुद्धको आवाज उठाएको र यसमा निजी क्षेत्रको भूमिकामाथि पनि प्रश्न उठेकोले निजी क्षेत्र आफैं सच्चिनु जरुरी छ।
गुणस्तरीय रोजगारीको अभाव र युवा पलायन
नेपालमा गुणस्तरीय रोजगारीको अभावका कारण युवाहरू विदेशिन बाध्य भएको पाण्डेले बताए। उनले ब्याचलर अफ हस्पिटालिटी म्यानेजमेन्ट (BHM) जस्ता शैक्षिक योग्यता भएका युवाहरूले पनि १७ हजारको जागिरमा चित्त बुझाउनुपर्ने अवस्था रहेको र यही कारणले उनीहरू कतार वा मलेसियाजस्ता देशमा जाने गरेको उल्लेख गरे। यसलाई उनले नेपालको आर्थिक विकासको प्रमुख समस्याका रूपमा चित्रण गरे।
राज्य संयन्त्रको जवाफदेहीता र आर्थिक पारदर्शिता
पाण्डेले राज्यका संयन्त्रहरूमा जवाफदेहीताको कमी हुँदा आर्थिक गतिविधि प्रभावित भएको बताए। हिजो सरकारी संयन्त्रमा मात्र सीमित रहेको भ्रष्टाचार अहिले निजी क्षेत्रका बैंकहरूमा समेत सरेको उनको भनाइ थियो। भ्रष्टाचार अन्त्यका लागि सबै आर्थिक कारोबारमा पारदर्शिता ल्याउनुपर्नेमा उनले जोड दिए।
सुस्त पर्यटन वृद्धिदर
नेपालको पर्यटन वृद्धिदर निकै सुस्त रहेको भन्दै पाण्डेले असन्तुष्टि व्यक्त गरे। सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक नेपाल आएकोमा अहिले यो संख्या ११ लाख ५० हजार मात्र पुगेको र यो वार्षिक २५ हजारको दरले मात्र बढेको उनको भनाइ छ। उनले नेपालभन्दा कम पर्यटकीय सम्भावना भएका देशहरूमा पनि नेपालको तुलनामा धेरै पर्यटक आउने गरेको बताए।
पर्यटकको संख्या बढाउन राज्यले शान्ति सुरक्षाको प्रत्याभूति दिनुका साथै सडक र हवाई पूर्वाधारमा सुधार गर्नुपर्नेमा उनले जोड दिए। बहुदल आएपछि नेपालको पर्यटन क्षेत्र ‘कुपोषण लागेको बच्चा’ जस्तै भएको पाण्डेको भनाइ थियो।


