तरुण खबर
७ आश्विन २०८२, मंगलवार ११:३९
काठमाडाैं, ७ असाेज । मर्चेन्ट बैंकिङ्ग एसोसिएसन नेपाल (MBAN) ले आफ्नो १६ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर पोखरामा हुने भनिएको सभा काठमाडौंको अलफ्ट होटलमा असोज २ गते आयोजना गरिएको थियो।
साधारण सभामा मर्चेन्ट बैंकिङ संस्थाका प्रतिनिधि तथा सदस्यहरूको सहभागिता थियो। सभाले आर्थिक वर्ष २०८१/८२ का गतिविधि र उपलब्धिहरूको समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक कार्यक्रम र बजेट अनुमोदन गरेको छ।
सभामा नेपालको मर्चेन्ट बैंकिङ व्यवसायका वर्तमान मुद्दा, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूमाथि गहन छलफल भएको थियो। यस क्रममा पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई थप सुदृढ बनाउने नीतिगत विषयहरूमा पनि छलफल भएको बताइएको छ।
MBAN ले नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। सभाले एसोसिएसनको नाम र अन्य आवश्यक संशोधनहरू पनि पारित गरेको छ।


