तरुण खबर
८ आश्विन २०८२, बुधबार ११:३३
काठमाडाैं, ८ असाेज । हालैका दिनहरूमा नेपालका बैंकहरूमा निक्षेपको रूपमा ढुसी लागेका र कुहिएका नोटहरू आइरहेका छन् । विशेषगरी पाँच सय र एक हजारका नोटहरू यसरी जम्मा भइरहेका छन् । यो घटना जेनजी आन्दोलनका क्रममा केही नेताहरूको घरमा ठूलो मात्रामा नगद फेला परेपछि देखिएको बैंकरहरूको भनाइ छ । उनीहरूका अनुसार यो घटनाले मानिसहरू घरमा नगद राख्न असुरक्षित महसुस गर्न थालेका छन् ।
ढुसी लागेका नोटहरूको रहस्य
बैंकहरूमा जम्मा भएका नोटहरू नियोजित रूपमा चिसो र अँध्यारो ठाउँमा लामो समयदेखि भण्डारण गरेर राखिएका जस्ता देखिन्छन् । यसअघि पनि यस्ता नोटहरू बैंकमा नआएका होइनन्, तर पछिल्ला केही वर्षयता यो क्रम रोकिएको थियो । यस घटनाले घरमा वा अन्य गोप्य स्थानमा पैसा राखेकाहरूले अब त्यसलाई बैंकमा जम्मा गर्न थालेको अनुमान गरिएको छ ।
त्यसो त, बैंकबाट पैसा निकाल्ने सर्वसाधारणले समेत बैंकले पुराना र कुहिएका नोट दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । एक ग्राहकले भने, “पहिले दसैँमा नयाँ नोट साट्दा कटकटे नोट पाइन्थ्यो । अहिले त समात्दा पनि च्यातिने, ढुसी लागेको नोट दिन्छन् ।” यसबाट बैंकहरूले पनि यस्ता नोट पुनः बजारमा पठाएको बुझ्न सकिन्छ ।
बढ्दो निक्षेप र घटेको चलनचल्तीको मुद्रा
नेपाल बैंकर्स संघको तथ्याङ्कले पनि यसलाई पुष्टि गर्छ । गत भदौ महिनाको अन्तिम दुई हप्तामा वाणिज्य बैंकहरूमा ६३ अर्ब २२ करोड रुपैयाँ निक्षेप थपिएको छ । जबकी, भदौको पहिलो दुई हप्तामा जम्मा ११ अर्ब रुपैयाँ मात्र निक्षेप बढेको थियो । यो ठूलो मात्रामा बढेको निक्षेपको मुख्य कारण विदेशबाट आएको रेमिट्यान्स मात्र नभई, बजारमा लुकेको पैसा बैंकिङ प्रणालीमा फर्किएको भन्ने देखिन्छ ।
यसको अर्को प्रमाण ‘चलनचल्तीमा रहेका मुद्रा’ को तथ्यांकबाट पनि पुष्टि हुन्छ । आन्दोलन सुरु हुनुअघि ७ खर्ब ३९ अर्ब रुपैयाँ चलनचल्तीमा थियो भने भदौ ३० सम्ममा यो रकम जम्मा ५ अर्बले मात्र बढेर ७ खर्ब ४४ अर्ब पुग्यो । यसको तुलनामा, गत वर्ष घटस्थापनाको अघिल्लो हप्तामा मात्रै चलनचल्तीको मुद्रा ३० अर्बले बढेको थियो । यसले पनि मानिसहरूले घरमा पैसा राख्न छोडेर बैंकमा जम्मा गर्न थालेको स्पष्ट संकेत गर्दछ ।
चोरीका नोटको डर
जेनजी आन्दोलनका क्रममा नेताहरूको घरबाट पैसा लुटिएको हुन सक्ने र त्यही पैसा बैंकमा जम्मा भइरहेको हुनसक्ने अनुमान पनि गरिएको छ । बैंकहरूले आंशिक रूपमा जलेका वा क्षति पुगेका नोटहरू निक्षेपको रूपमा स्वीकार गर्न बन्द गरेका छन् । किनभने यस्ता नोट चोरीको हुन सक्ने शंका गरिएको छ । देशैभरि कति नेताको घरमा आगजनी भयो र कति पैसा जल्यो भन्ने यकिन तथ्यांक नहुँदा बैंकहरूलाई कुन पैसा चोरीको हो भन्ने पत्ता लगाउन गाह्रो भएको छ ।



