तरुण खबर
८ आश्विन २०८२, बुधबार ११:४५
काठमाडाैं, ८ असाेज । गत भदौमा भएको जेनजी आन्दोलनका कारण बीमा कम्पनीहरूले करिब ३० अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्नुपर्ने अवस्था आएको छ । यो रकम २०७२ सालको भूकम्पमा परेको बीमा दाबीभन्दा दोब्बर हो । भूकम्पका बेला साढे १६ अर्बको बीमा दाबी परेको थियो, जसमध्ये १४.५ अर्ब रुपैयाँ बीमा कम्पनीहरूले भुक्तानी गरेका थिए ।
बीमा कम्पनीहरुमा ठूलो मार एलिट क्यापिटलका अध्यक्ष दिनेश आचार्यका अनुसार, भूकम्पको जोखिम कम गर्न बीमा कम्पनीहरूले १० देखि २० प्रतिशत मात्रै जोखिम राखेर बाँकी पुनर्बीमा गराएका थिए । तर, हुलदंगा बीमालाई कम जोखिम मानिएको हुनाले नेपाली बीमा कम्पनीहरूले ३५ प्रतिशत जोखिम आफैं राखेर ६५ प्रतिशत मात्रै पुनर्बीमा गराएका थिए । यसले गर्दा अहिले जेनजी आन्दोलनको क्षतिपूर्ति भुक्तानी गर्दा उनीहरूमाथि ठूलो आर्थिक भार पर्ने भएको छ ।
नेपाल रिइन्स्योरेन्समा सबभन्दा धेरै असर हुलदंगा तथा आतंकवादसम्बन्धी बीमाको पुनर्बीमा नेपालमा रहेको दुई पुनर्बीमा कम्पनीमध्ये नेपाल रिइन्स्योरेन्सले मात्रै गर्दै आएको थियो । यसले गर्दा ३० अर्बको कुल दाबीमध्ये ९ देखि १० अर्ब रुपैयाँको क्षतिपूर्ति नेपाल रिइन्स्योरेन्सले नै तिर्नुपर्ने अनुमान गरिएको छ । बाँकी ९-१० अर्ब रुपैयाँ विदेशी पुनर्बीमा कम्पनी र ९-१० अर्ब रुपैयाँ निर्जीवन बीमा कम्पनीहरूले व्यहोर्नुपर्नेछ ।
यसअघि, सरकारले हुलदंगा र आतंकवादको जोखिम कम रहेको भन्दै नेपाल रिइन्स्योरेन्सलाई मात्रै यस्तो पुनर्बीमा गर्ने अधिकार दिएको थियो । धेरै व्यवसायीहरूले लामो समयदेखि यसको बीमा खारेज गर्नुपर्ने माग गर्दै आएका थिए किनभने माओवादी द्वन्द्व समाप्त भएपछि यस्ता घटना बिरलै हुने गरेका थिए । तर, जेनजी आन्दोलनले दशकौंपछि यस्तो जोखिमलाई पुनः सतहमा ल्याएको छ ।


