तरुण खबर
८ आश्विन २०८२, बुधबार १२:४४
काठमाडाैं, ८ असाेज । सरकारले भन्सारमा हुने अन्डर-इनभ्वाइसिङलाई नियन्त्रण गर्नका लागि नयाँ मूल्यांकन प्रणाली सुरु गरेको छ । यसअन्तर्गत अब आयातकर्ताले पेस गरेको वास्तविक बीजक (इनभ्वाइस) लाई नै भन्सार मूल्यांकनको मुख्य आधार बनाइनेछ । यो प्रणालीले हालको ‘सन्दर्भ मूल्यसूची’ मा आधारित मूल्यांकन प्रणालीलाई विस्थापन गर्नेछ ।
भन्सार विभागले बुधबारदेखि विराटनगर भन्सार कार्यालयमा यसको ‘पाइलट प्रोग्राम’ सुरु गरेको छ । यो नयाँ प्रणालीमा आयातित वस्तुहरूको घोषित मूल्यको तथ्याङ्क सङ्कलन, भण्डारण र विश्लेषण गरिनेछ । यसले भन्सार कार्यालयहरूमा हुने कम मूल्यांकन (अन्डर-भ्यालुएसन) को जोखिमलाई घटाउने लक्ष्य लिएको छ ।
अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले विराटनगरमा नयाँ अनलाइन प्लेटफर्मको उद्घाटन गरेका छन् । यो प्रणाली विश्वव्यापी रूपमा भन्सार जाँचपासमा प्रयोग हुने ASYCUDA प्रणालीसँग एकीकृत छ ।
यसले कुनै पनि आयातित वस्तुको वास्तविक मूल्य पत्ता लगाउन ९० दिनको ऐतिहासिक तथ्याङ्कको विश्लेषण गर्छ, जसले भन्सार शुल्क निर्धारणलाई अझ पारदर्शी र सही बनाउनेछ । यो पाइलट प्रोग्रामको अनुभवका आधारमा सरकारले यसलाई देशभरका भन्सार कार्यालयहरूमा विस्तार गर्ने योजना बनाएको छ ।


