तरुण संवाददाता
८ आश्विन २०८२, बुधबार १४:०७
काठमाडौं । राष्ट्रिय महिला आयोगकी कृष्णकुमारी पौडेल खतिवडाले आफैंलाई कार्यबाहक अध्यक्ष घोषणा गरेकी छन् । महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीको अनुपस्थितिमा उनले गर्दै आएको काम आफूले कार्यसम्पादन गर्ने भन्दै कार्यबाहक अध्यक्ष तोकेकी हुन् ।
आयोगकी अध्यक्ष पराजुली विदेश भ्रमणका निम्ति असोज ५ गतेदेखि आयोगमा उपस्थित छैनन् । सामान्यतया अध्यक्षले आफ्नो अनुपस्थितिमा कामकाज गर्नका निम्ति कार्यवाहक तोक्ने गरिन्छ । पराजुलीले कसैलाई पनि कार्यवाहक तोकेकी छैनन् । त्यसपछि आज आयोगकी सदस्य खतिवडाले बिना सम्बोधनको एक पत्र जारी गर्दै आफूले आफैँलाई कार्यवाहक अध्यक्ष तोकेकी हुन् ।
‘राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमलाकुमारी पराजुली मिति २०८२/०६/०५ देखि आयोगमा उपस्थित नहुँदासम्मका लागि राष्ट्रिय महिला आयोग ऐन, २०७४ को परिच्छेद ४ को दफा २० मा कुनै कारणवश अध्यक्षको पद रिक्त भएमा संविधानको धारा १०१ को उपधारा (६) बमोजिम आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने भएमा, विदेश भ्रमणमा गएकोमा वा सात दिनभन्दा बढी समय सम्म विदामा रहेकोमा आयोगमा आयोगको वरिष्ठतम सदस्य आयोगको कार्यवाहक अध्यक्ष भई काम गर्ने छ भनी लेखिएकोमा अध्यक्ष आयोगमा उपस्थित नहुँदासम्मका लागि कार्यवाहक अध्यक्ष म सदस्य कृष्णकुमारी पौडेल खतिवडा नियमबमोजिम कार्यसम्पादन गर्ने जानकारी गराउँछु,’ विज्ञप्तिमा छ ।



