नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी

नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी तरुण खबर ९ आश्विन २०८२, बिहीबार ११:५०
नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी

काठमाडाैं, ९ असाेज । देशव्यापी ‘जेन-जी’ आन्दोलनका क्रममा नवलपरासी कारागारबाट भागेका कैदीबन्दीहरू फर्कने क्रम जारी छ। कारागार प्रमुख विकल श्रेष्ठका अनुसार भदौ ९ गते भागेका ५४६ जनामध्ये हालसम्म २२२ जना कारागार फर्किसकेका छन्।

कारागारको सुरक्षा व्यवस्थालाई कमजोर बनाउँदै कैदीबन्दीहरू भागेको जेलर श्रेष्ठले बताए। तर, त्यही बेला पनि १७ पुरुष र १२ महिला गरी २९ जना कैदीबन्दी भने भागेका थिएनन्। कारागार प्रशासनले सूचना जारी गर्दै फर्कन आग्रह गरेपछि दैनिकजसो कैदीबन्दीहरू आफैँ कारागार फर्किरहेका छन्।

श्रेष्ठका अनुसार नवलपरासी कारागारबाट भागेका ४० जना भारतीय नागरिकमध्ये एक जना फर्किसकेका छन्। यसबाहेक, १३ जना कैदीबन्दी अन्य कारागारमा गएका छन् भने ६ जना अन्य कारागारबाट नवलपरासी आएका छन्।

साथै, केन्द्रीय कारागारबाट भागेका दुई जना मोरक्कन र एक जना दक्षिण अफ्रिकी नागरिक पनि हाल नवलपरासी कारागारमा रहेको जेलर श्रेष्ठले जानकारी दिए।