दसैंमा नागढुंगा-सिस्नेखोला सुरुङमार्ग खुल्ने तयारी

दसैंमा नागढुंगा-सिस्नेखोला सुरुङमार्ग खुल्ने तयारी तरुण खबर ९ आश्विन २०८२, बिहीबार १२:१९
दसैंमा नागढुंगा-सिस्नेखोला सुरुङमार्ग खुल्ने तयारी

काठमाडाैं, ९ असार । दशैंका लागि नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। अहिले सुरुङमार्गको प्राविधिक परीक्षण कार्य भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ।

आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार, आजदेखि सुरुङमार्ग अगाडिको बलम्बुमा रहेको फ्लाईओभरको परीक्षण सुरु भएको छ। यो परीक्षण ४८ घण्टाभित्र सकिनेछ। मुख्य सुरुङको परीक्षण भने यसअघि नै सम्पन्न भइसकेको छ।

‘मुख्य सुरुङको परीक्षण भइसक्यो। अब फ्लाइओभरको परीक्षण हुँदै छ,’ पन्थीले भने, ‘शनिबारसम्म फ्लाइओभरको परीक्षण सकिन्छ।’

दसैंमा सञ्चालन गर्ने तयारी भए पनि परीक्षणकै क्रममा रहेकाले सवारी साधन कहिलेदेखि गुड्न दिने भन्नेबारे अन्तिम निर्णय भइसकेको छैन। यसैबीच, सुरुङको पश्चिमी पोर्टलमा केही समस्या देखिएको र त्यसको समाधानका लागि काम भइरहेको पनि पन्थीले बताए।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यातायात व्यवसायीहरूसँगको छलफलमा यो सुरुङ दसैंमा सञ्चालन गर्न निर्देशन दिएका थिए। सोहीअनुरुप, सुरुङ सञ्चालनका लागि निर्माण कम्पनी र सरकारबीच पनि छलफल भइरहेको छ।

दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुबाहक सवारी साधनका लागि यो सुरुङमार्ग निःशुल्क खुला गरिने जनाइएको छ।