तरुण खबर
९ आश्विन २०८२, बिहीबार १२:२४
काठमाडाैं, ९ असार । दसैं–तिहारको मुखमा सवारीसाधनको कारोबारले निकै रौनक हुने काठमाडौँको थापाथलीस्थित ‘अटो हब’ यस वर्षको ‘जेनजी आन्दोलन’ का कारण सुनसान बनेको छ। भदौ २३ र २४ गते भएको आन्दोलनले थापाथलीका आधा दर्जनभन्दा बढी गाडी शोरुममा क्षति पुर्याएको छ भने ३० देखि ५० वटा नयाँ गाडी जलेर नष्ट भएका छन्।
करोडौंको क्षति
यो मुख्य व्यापारिक सिजनमा भएको क्षतिले अटो व्यवसायी र ग्राहक दुवैलाई ठूलो झड्का लागेको छ। गत साउनको अन्त्य र भदौको सुरुमा भएको नेपाल मोबिलिटी एक्स्पो र नाडा अटो शोमा करिब साढे ७ हजार गाडी बुकिङ भएको थियो, जसमध्ये अधिकांश दसैंमा डेलिभरी दिने योजना थियो। तर, आन्दोलनले व्यवसायीहरूको सपना र लगानीमा गम्भीर असर पुर्याएको छ।
ग्राहकसमेत प्रभावित
आन्दोलन र राजनीतिक अस्थिरताका कारण ग्राहकहरूको विश्वासमा पनि कमी आएको छ। कतिपय शोरुममा ६०-७० प्रतिशत बुकिङ रद्द भएका छन्। व्यवसायीहरूका अनुसार, यस घटनाले बजारको ऊर्जा र ग्राहकको मनोबल घटाएको छ, जसले गर्दा बिक्रीमा ठूलो गिरावट आउने अनुमान गरिएको छ।
सरकारले राहत प्याकेज ल्यायो
यस क्षतिलाई मध्यनजर गर्दै सरकारले प्रभावित अटोमोबाइल उद्योगलाई पुनः सशक्त बनाउन विशेष राहत प्याकेज घोषणा गरेको छ। यो प्याकेजमा ५० प्रतिशत अग्रिम बीमा भुक्तानी, ८० प्रतिशत बैंक कर्जा सुविधा, भन्सार छुट, कर सहुलियत र रोजगारी सुरक्षा जस्ता प्रावधानहरू समावेश छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसलाई स्वागत गर्दै सरकारसँगको सहकार्यले उद्योगको पुनर्निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सरकारले यो कदमले तत्काल राहत दिँदै दीर्घकालीन स्थिरता र आर्थिक समृद्धिमा योगदान पुग्ने नाडाले बताएको छ।


