तरुण खबर
१२ आश्विन २०८२, आईतवार १२:०८
काठमाडाैं, १२ असाेज । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको चाहना र आकाङ्क्षालाई राज्य प्रणालीमा समावेश गर्नुपर्नेमा जोड दिएका छन्। दशैंको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले युवा नै नेपालको भविष्यको आधारस्तम्भ रहेको बताएका छन्।
उनले युवामा निहित देशभक्ति, ऊर्जा र नवीन सोच नै राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने एक मात्र बाटो भएको उल्लेख गरे।
पूर्व राजा शाहले देशको वर्तमान परिस्थितिलाई टिप्पणी गर्दै भने, “हाम्रो धेरैजसो शासन विनाश गर्ने, भत्काउने र जलाउनेमै लागेको छ। अब हामीले विनाश होइन, निर्माणमा ध्यान दिनुपर्छ।”
“जे भयो, भयो। जे हुनु नपर्ने थियो, त्यो पनि भयो। अब नयाँ पुस्ता, आउँदो नयाँ युगले आशा, विश्वास र भरोसाका साथ अगाडि बढ्नुपर्छ,” उनले सन्देशमा भनेका छन्।
उनले सत्य, वरिष्ठ, अनुशासन, मर्यादाको सम्मान गर्ने र राष्ट्रलाई प्रेम गर्ने खालको राष्ट्रिय सोच आवश्यक रहेकोमा पनि जोड दिएका छन्।


