तरुण संवाददाता
१२ आश्विन २०८२, आईतवार १४:३०
काठमाडौं । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले अहिले विशेष महाधिवेशन आवश्यक नभएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले विशेष महाधिवेशनको माग गर्दै सुरु भएको हस्ताक्षर अभियानको उनले विरोध गरे ।
महतले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको भन्दै केन्द्रीय समितिबाटै निचोड निस्किने स्पष्ट पारे।
‘अहिले हाम्रो पार्टीभित्र पनि कतिपय साथीहरु देशभर छरिएर रहेका साथीहरुमा अन्योल हुनसक्छ, हस्ताक्षरको कुरा उठिरहेको छ रे, वा के भइरहेको छ रे,’ महतले भने, ‘अहिले हामीले यी कुराहरुमा ध्यान दिनु हुँदैन। अहिले हामी अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ। अधिवेशन प्रक्रियालाई पनि हामी चाँडोभन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन।’
महतले विशेष महाधिवेशन आवश्यक नभएको दाबी गरे पनि कांग्रेसमा यो बहस उत्कर्षमा पुगिसकेको छ । असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकले एउटा ठोस निर्णय नगरे कांग्रेसमा विद्रोह हुने सम्भावना धेरै छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व हस्तान्तरणका लागि तयार भए पनि उनी निकट नेताहरुले रोक्दै आएका छन् ।
महतले पार्टी सभापति देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताए। पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उनले सांघातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको जिकिर गरे।
‘पार्टी सभापति लोकतान्त्रिक आन्दोलनमा लगातार लड्नुभएको छ, शाहीकालमा उहाँलाई अनेकौँ लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोशिस भयो, उहाँ हुनुभएन,’ महतले भने, ‘अहिले पनि यस्ता भेटियो, उस्तो भेटियोदेखि लिएर पासपोर्ट लिएर भाग्दै थियो भन्ने अनर्गल प्रचार गरियो। उहाँ कुनै अपराधी होइन, अपराध गर्नुभएको छैन। पासपोर्ट लिने हरेक नेपालीको हक छ। पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ। उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन। उहाँले सांघातिक रुपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर छोड्नुभएन भने उहाँले देश छोड्नुपर्ने कुनै कारण छैन।’
महतले पछिल्लो समय राजनीतिक दलहरुविरुद्ध षड्यन्त्रपूर्वक आत्मविश्वास घटाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेस त्यो षडयन्त्रको सिकार बन्न नदिने बताए ।
‘हाम्रो आत्मविश्वासलाई थाङथिलो पार्ने योजनाअन्तर्गत सबै षड्यन्त्र गरिएको हो,’ उनले भने, ‘तर कांग्रेस पार्टी सधैं लोकतन्त्र, जनता र राष्ट्रको पक्षमा दृढताका साथ उभिएको छ ।’ पार्टी कार्यालय र नेताहरुका घरमा भएको तोडफोड र आगजनीप्रति टिप्पणी गर्दै महतले त्यस्ता घटना कांग्रेसको आत्मबल तोड्न नसक्ने जिकिर गरे ।


