प्रमुख राजमार्गमा गाडी चल्न थाले

प्रमुख राजमार्गमा गाडी चल्न थाले तरुण खबर २० आश्विन २०८२, सोमबार ०९:१०
प्रमुख राजमार्गमा गाडी चल्न थाले

काठमाडाैं, २० असाेज । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा यातायात सेवा आज (सोमबार) बिहान ६ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण ती सडक खण्डहरूमा पहिरोको उच्च जोखिम देखिएपछि यात्रुको सुरक्षालाई मध्यनजर गर्दै आवागमन रोकिएको थियो।

आइतबार राति ९ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको थियो। सडकको अवस्थामा सुधार आएपछि र जोखिम कम भएपछि आज बिहानदेखि सडक खोलिएको हो।

गन्तव्यतर्फ रोकिएका सवारी

सडक खुलेसँगै होल्डिङ सेन्टरमा रोकिएका छोटो तथा लामो दुरीका सवारी साधनहरू अब आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार, यातायात सुचारु भएपछि रोकिएका यात्रुहरूलाई ठूलो राहत मिलेको छ।