मुख्य राजमार्ग ठप्प, यातायात सेवा प्रभावित

मुख्य राजमार्ग ठप्प, यातायात सेवा प्रभावित तरुण खबर २० आश्विन २०८२, सोमबार ०९:२३
मुख्य राजमार्ग ठप्प, यातायात सेवा प्रभावित

काठमाडाैं, २० असाेज । शनिबार र आइतबार परेको भारी वर्षाका कारण देशका प्रमुख राजमार्गहरू विभिन्न स्थानमा अवरुद्ध भएका छन्। पहिरो खस्ने, पुल तथा डाइभर्सनहरू खोलाले बगाउँदा धेरै राजमार्गहरूमा सम्पर्क टुटेको छ।

नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार, कोशी राजमार्ग, कान्ती लोकपथ लगायत प्रमुख राजमार्गहरू पूर्णरूपमा अवरुद्ध छन्।

कोशी प्रदेशका मुख्य राजमार्ग पूर्ण अवरुद्ध

कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धिचरण लोकपथ, मध्यपहाडी लोकमार्ग र मेची राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध रहेको छ।

  • कोशी राजमार्ग संखुवासभाको भोटखोला गाउँपालिका–४ बरूणखोलामा अवरुद्ध छ।
  • सिद्धिचरण लोकपथ ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा अवरुद्ध छ। यसैगरी, उदयपुरको कटारीमा पनि यो राजमार्ग असोज १८ गतेदेखि पूर्ण अवरुद्ध छ।
  • मध्यपहाडी लोकमार्ग इलामको फिक्कलमा अवरुद्ध छ।
  • मेची राजमार्ग इलाम नगरपालिका–९ राजदुवाली लगायतका स्थानहरूमा अवरुद्ध छ।

बागमती प्रदेशमा सडकको अवस्था

बागमती प्रदेशमा पनि धेरै महत्त्वपूर्ण सडकहरू अवरुद्ध भएका छन्।

  • नेपाल र चीन जोड्ने नाका रसुवाको गोसाइकुण्ड गाउँपालिकामा सञ्चालनमा छैन।
  • पासाङल्हामु सडक खण्डका तीन ठाउँमा पूर्णरूपमा अवरोध छ।
  • सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको ४ किलो भन्ने ठाउँमा पहिरो आउँदा तातोपानी जाने बाटो पूर्णरूपमा अवरुद्ध छ।
  • विपि राजमार्ग सिन्धुलीको डाइभर्सन रोशी खोलाले बगाउँदा पूर्ण रूपमा अवरुद्ध छ। नेपालथोक नजिकै पनि सडक प्रयोग गर्न नसकिने अवस्थामा छ।
  • कान्ती लोकपथ भीमफेदी–८ वगुवा खोला नजिकै शनिबारदेखि अवरुद्ध छ।
  • कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक पनि सिस्नेरी बजार नजिकै अवरुद्ध छ।

प्रहरीका अनुसार रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर लगायतका जिल्लाहरूमा पनि विभिन्न स्थानमा सडकहरू अवरुद्ध छन्।

एकतर्फी सञ्चालनमा रहेका सडक

केही राजमार्गहरूमा अवरोध आंशिक रूपमा पन्छाएपछि एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।

  • मदन भण्डारी राजमार्ग सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरेमा भएको अवरोध केही मात्रामा हटाएपछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।