तरुण खबर
२० आश्विन २०८२, सोमबार ०९:३९
काठमाडाैं, २० असाेज । देशभर आज (सोमबार) पनि मनसुनी वायुको प्रभाव कायमै रहने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।
दिउँसो र राति वर्षाको सम्भावना
विभागले आज दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी तथा तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
यसैगरी, आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले पूर्वानुमान गरेको छ।
मनसुनी प्रभावका कारण पहाडी तथा तराईका क्षेत्रमा मौसममा अस्थिरता र वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।


