तरुण संवाददाता
२१ आश्विन २०८२, मंगलवार १५:०९
काठमाडौं । सरकारले हालैको प्राकृतिक विपदमा घरबास गुमाएका परिवारहरूका लागि तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने भएको छ ।
मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले तत्काल अस्थायी आवासको निर्माण गर्न स्थानीय तहको समन्वयमा लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने निर्णय गरेको हो ।
विपद्मा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने र लाभग्राही पहिचान भइ आएपश्चात अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
सरकारले बाढीपहिरोमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । बैठकले तीनै तहका सरकारहरुले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ । मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुनबमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।
बैठकले विपद्पश्चात फैलिन सक्ने महामारीको आँकलन गरी महामारीजन्य रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।


