नागरिक समाजका ३० अगुवाको अपील: ‘शीर्ष नेताहरूले माफी मागी राजनीतिबाट सन्यास लिनुपर्छ’

नागरिक समाजका ३० अगुवाको अपील: ‘शीर्ष नेताहरूले माफी मागी राजनीतिबाट सन्यास लिनुपर्छ’ तरुण खबर २२ आश्विन २०८२, बुधबार १३:११
नागरिक समाजका ३० अगुवाको अपील: ‘शीर्ष नेताहरूले माफी मागी राजनीतिबाट सन्यास लिनुपर्छ’

काठमाडाैं, २२ असाेज । नेपालको राजनीतिक नेतृत्वले दशकौँसम्म गरेको भ्रष्टाचार र अधिकारको दुरुपयोग का कारण लोकतान्त्रिक प्रणाली र दलहरूको अस्तित्व नै खतरामा परेको भन्दै नागरिक समाजका ३० जना प्रबुद्ध व्यक्तिहरूले शीर्ष नेताहरूलाई सार्वजनिक रूपमा माफी माग्न र स्वैच्छिक रूपमा राजनीतिबाट सन्यास लिन आह्वान गरेका छन्।

बुधबार एक संयुक्त अपील जारी गर्दै उनीहरूले राजनीतिक नेतृत्वमा नैतिक शुद्धीकरण (Moral Reset) को माग गरेका हुन्।

मुख्य मागहरू:

  • प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले जनतासमक्ष सार्वजनिक माफी माग्ने।
  • नेतृत्वलाई जनताप्रति जवाफदेही बनाउन स्वैच्छिक अवकाश लिने।
  • आगामी निर्वाचनहरू निर्धारित समयमै सम्पन्न हुने सुनिश्चित गर्ने।

नागरिक समाजका अगुवाहरूले राजनीतिक दलका नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्न नेताहरूको राजीनामा र स्वैच्छिक अवकाश अपरिहार्य भइसकेको बताएका छन्। उनीहरूले भनेका छन्, “यो कुनै खास दलको सान्दर्भिकता वा भविष्यको विषय मात्र होइन, यो त लोकतन्त्र र दलीय प्रणालीको अस्तित्वको रक्षा सँग जोडिएको विषय हो।”

दशकौँ लामो राजनीतिक जडता, भ्रष्टाचार, र शक्तिको दुरुपयोग ले जनताको विश्वास गुमेको ठहर गर्दै नागरिक अगुवाहरूले नेतृत्वमा नैतिक पुनर्संरचनाको आवश्यकता औंल्याएका छन्।

अपीलमा हस्ताक्षर गर्नेहरू:

अपीलमा हस्ताक्षर गर्नेहरूमा अर्चला थापा, चरण प्रसाईं, मीना पौडेल, इन्द्र अधिकारी, चन्द्रकिशोर, रजनी ढकाल, उद्धव प्याकुरेल, झलक सुवेदी, राजाराम गौतम, उत्तम बाबु श्रेष्ठ, दिनेश त्रिपाठी, लोक राज बराल, कोस्मोस विश्वकर्मा, दीपेश घिमिरे, विद्याधर मल्लिक, कृष्ण खनाल, दोभान राई, विनोद सिजापति, केदार भक्त माथेमा, तारनाथ दाहाल, संगीता लामा, केशव दाहाल, तुला नारायण शाह, सन्जीव उप्रेती, खगेन्द्र संग्रौला, भोजराज पोखरेल, श्रवण मुकारुङ, गेजा शर्मा वाग्ले, मुमा राम खनाल, र युग पाठक गरी ३० जना प्रख्यात नागरिक समाजका व्यक्तित्वहरू रहेका छन्।