‘क्रान्ति’ चामल उत्पादक आनन्द इन्डस्ट्रीजको व्यापार १ अर्ब नाघ्यो

‘क्रान्ति’ चामल उत्पादक आनन्द इन्डस्ट्रीजको व्यापार १ अर्ब नाघ्यो तरुण खबर २६ आश्विन २०८२, आईतवार १०:५१
‘क्रान्ति’ चामल उत्पादक आनन्द इन्डस्ट्रीजको व्यापार १ अर्ब नाघ्यो

काठमाडाैं, २६ असाेज । चामलको बजारमा आफ्नो बलियो उपस्थिति बनाउँदै आएको आनन्द इन्डस्ट्रीजले व्यापारमा उल्लेख्य सुधार गरेको छ। कम्पनीले एक वर्षको अवधिमा रु. १ अर्बभन्दा बढीको कारोबार गर्न सफल भएको छ।

व्यापारमा झण्डै १९ प्रतिशतको वृद्धि

कम्पनीले सन् २०२५ मा रु. १ अर्ब ८ करोड ३० लाख बराबरको व्यापार गरेको छ। यो अघिल्लो वर्ष सन् २०२४ को रु. ९१ करोड ३० लाखको तुलनामा १८.६२ प्रतिशतले बढी हो। यसअघि सन् २०२३ मा पनि कम्पनीले रु. ७६ करोड बराबरको व्यापार गरेको थियो।

आनन्द इन्डस्ट्रीजले ‘क्रान्ति’ ब्रान्डमार्फत प्रशोधित चामल बिक्री गर्दै आएको छ। चामलको मूल्यवृद्धि र बढी बिक्री परिमाणका कारण व्यापार बढेको कम्पनीले जनाएको छ।

बिक्री परिमाण र मूल्यमा सुधार

व्यापार वृद्धिसँगै बिक्री परिमाण पनि बढेको छ। कम्पनीले गत वर्ष २३ हजार २ सय ७९ मेट्रिक टन चामल बिक्री गर्‍यो, जबकि सन् २०२४ मा २१ हजार ४ सय ६२ मेट्रिक टन मात्र बिक्री भएको थियो। सोही अवधिमा प्रतिमेट्रिक टन चामलको औसत मूल्य पनि रु. ७४ हजार ९५९ बाट बढेर रु. ८५ हजार १२७ पुगेको कम्पनीले उल्लेख गरेको छ।

नाफा र नगद सञ्चयमा फड्को

कम्पनीको नाफाको पक्षमा पनि सुधार देखिएको छ। सन् २०२५ मा कम्पनीले ६.२१ प्रतिशत खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्ष सन् २०२४ मा मात्र १.५८ प्रतिशत थियो।

कारोबार बढेसँगै कम्पनीको नगद सञ्चय पनि उल्लेख्य रूपमा बढेको छ। सन् २०२४ मा रु. २ करोड २० लाख रहेको नगद सञ्चय सन् २०२५ मा बढेर रु. ७ करोड ५० लाख पुगेको छ।

उद्योगको परिचय

सुनसरीस्थित यो उद्योगले सन् १९७० देखि धान प्रशोधन गरी मनसुली, सोना, जीरा लगायतका ब्रान्डका चामल उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता २१ हजार मेट्रिक टन रहेको छ। कम्पनीले बजार माग अनुसार उत्पादन विस्तार गर्ने रणनीति अघि बढाएको छ।

कम्पनीले वित्तीय स्थायित्वका लागि रु. ७० करोडको अल्पकालीन कर्जा रेटिङ गराएको छ। कम्पनीका निर्देशक मोतिलाल अग्रवालसँग चामल उद्योगमा चार दशकभन्दा बढीको अनुभव रहेको छ। कम्पनीको हाल देशभर ४ सयभन्दा बढी स्थायी ग्राहक सञ्जाल रहेको छ।