आज पनि एमाले सचिवालय बैठक, ओलीको स्वास्थ्यका कारण हिजो स्थगित

आज पनि एमाले सचिवालय बैठक, ओलीको स्वास्थ्यका कारण हिजो स्थगित तरुण खबर २६ आश्विन २०८२, आईतवार ११:०९
आज पनि एमाले सचिवालय बैठक, ओलीको स्वास्थ्यका कारण हिजो स्थगित

काठमाडाैं, २६ असाेज । नेकपा (एमाले) को सचिवालय बैठक आज (आइतबार) पनि बस्दैछ। शुक्रबारदेखि सुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर, बालकोटस्थित गुण्डुमा बिहान ११ बजे पुनः सुरु हुन लागेको हो।

अध्यक्ष ओलीको स्वास्थ्य (रुघाखोकी) मा समस्या आएपछि शनिबारका लागि तय भएको बैठक स्थगित गरी आजलाई सारिएको थियो।

बैठकका एजेन्डा

बैठकले मुख्यगरी आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्नेछ। शुक्रबारको सत्रमा सचिवालय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु गरेका थिए। केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्म ललितपुरको राम वाग महलमा बस्ने तय भएको छ।

शुक्रबारको छलफलमा भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ को समीक्षापार्टीको आसन्न महाधिवेशनको तयारी लगायतका विषयमा छलफल भएको थियो।

पदाधिकारीले राख्नेछन् धारणा

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकमा बाँकी रहेका सचिवालय सदस्यहरूले आफ्नो भनाइ राख्ने क्रमलाई निरन्तरता दिनेछन्। शुक्रबारको बैठकमा केही पदाधिकारीले ओलीलाई नेतृत्व छाड्न आग्रह गरेको समाचारसमेत बाहिरिएको छ।

यसै क्रममा उठेका विषयवस्तु र प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्यदिशा तय गर्नेतर्फ बैठक केन्द्रित हुने अपेक्षा गरिएको छ।