तरुण खबर
२६ आश्विन २०८२, आईतवार ११:१२
काठमाडाैं, २६ असाेज । प्यालेस्टाइनी समूह हमासको बन्धकमा रहेका नेपाली नागरिक विपिन जोशीलाई जीवित बन्धकहरूको सूचीमा समावेश गरिएको छ। पछिल्लो समय सार्वजनिक भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमका रिपोर्टहरूले उनको अवस्थाबारेको अनिश्चितता हटाउँदै उनी सकुशल रहेको पुष्टि गरेका छन्।
द वासिङ्टन पोस्ट, टाइम्स अफ इजरायल, र एसोसिएटेड प्रेस (एपी) लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रकाशित गरेको नयाँ सूचीमा विपिन जोशीको नाम जीवित बन्धकको रूपमा उल्लेख गरिएको छ।
यसअघि, सीएनएनले प्रकाशित गरेको बन्धकहरूको सूचीमा विपिन जोशीको अवस्था ‘अज्ञात’ उल्लेख गरिएको थियो, जसले गर्दा उनको परिवार र नेपाल सरकारमा चिन्ता थपिएको थियो। तर, अब उनी जीवितै रहेको खबरले उनको रिहाइको आशालाई बलियो बनाएको छ।
युद्धविरामको पहिलो चरणको योजनाअन्तर्गत सोमबार केही बन्धकहरूलाई रिहा गर्ने तयारी भइरहेका बेला यो नयाँ सूची सार्वजनिक भएको हो। यसले कञ्चनपुरका कृषि विद्यार्थी जोशीको स्वदेश फिर्तीको सम्भावना बढेको छ।
विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलको किबुट्ज अलुमिमबाट हमासको नियन्त्रणमा परेका थिए।


