सामानमा ‘एमआरपी’ अनिवार्य राख्न वाणिज्य विभागको निर्देशन

सामानमा ‘एमआरपी’ अनिवार्य राख्न वाणिज्य विभागको निर्देशन तरुण खबर २७ आश्विन २०८२, सोमबार ११:१५
सामानमा ‘एमआरपी’ अनिवार्य राख्न वाणिज्य विभागको निर्देशन

काठमाडाैं, २७ असाेज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका बेला बजारमा बिक्री हुने वस्तुहरूमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा राख्न व्यवसायीहरूलाई फेरि ध्यानाकर्षण गराएको छ ।

विभागले तिहार लक्षित अनुगमनका क्रममा बजारमा बिक्री भइरहेका भाई मसला, तामा–चाँदीका भाँडा, झिलिमिली बत्ती लगायतका सामानहरूमा मूल्यसहितको लेबल (MRP) नदेखिएको भन्दै आपत्ति प्रकट गरेको छ ।

बजारमा मूल्य स्थिरता कायम गर्न र उपभोक्ता हित सुनिश्चित गर्नका लागि व्यवसायी, सम्बन्धित संघ-संस्थाहरू र उपभोक्ता समूहहरूको सहयोग र सहकार्य आवश्यक रहेको विभागले जोड दिएको छ ।

विभागले उपभोक्ताहरूलाई समेत एमआरपी उल्लेख भएका सामान मात्र खरिद गर्न आग्रह गरेको छ । यसैगरी, खरिदका क्रममा कुनै गुनासो वा अनियमितता फेला परेमा विभागको टोल फ्रि नम्बर ११३७ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।