तरुण खबर
२७ आश्विन २०८२, सोमबार ११:३३
काठमाडाैं, २७ असाेज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) देवेन्द्र सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ । सुवेदीमाथि सामाजिक सञ्जालमार्फत झुटो र भ्रामक सूचना फैलाएको आरोप लगाइएको छ ।
के हो आरोप ?
उजुरीमा उल्लेख भएअनुसार, पूर्व डीआईजी सुवेदीले सामाजिक सञ्जालमा पोष्ट गर्दै Gen Z आन्दोलनका क्रममा सेप्टेम्बर ९ मा प्रचण्डको निवास नजिकै आगजनी हुनुभन्दा दुई दिनअघि २० करोड रुपैयाँ बोकेका दुई वटा ट्रक लुकाइएको दाबी गरेका थिए । प्रचण्डको सचिवालयले यो जानकारी गलत रहेको र यसले साइबर अपराध अन्तर्गतको कसूर हुने बताएको छ ।
सचिवालयले साइबर ब्युरोलाई यस विषयमा गहन अनुसन्धान गर्न माग गरेको छ । साथै, यदि आरोपहरू सत्य नभई झुटो पाइएमा पूर्व डीआईजी सुवेदीमाथि कानुनबमोजिम आवश्यक कारबाही गर्न पनि अनुरोध गरिएको छ ।
साइबर ब्युरोले उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ ।


