तरुण खबर
२७ आश्विन २०८२, सोमबार ११:३८
काठमाडाैं, २७ असाेज । वर्षायामको सुरुवातसँगै बाटो बिग्रिएपछि बन्द रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी पुनः सुरु भएको छ । निकुञ्ज प्रशासनले सोमबारदेखि पर्यटकहरूका लागि सफारी खुला गरेको हो ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार वर्षाका कारण बाटोमा क्षति पुगेपछि मनसुन लागेदेखि नै सफारी रोकिएको थियो, जुन अहिले खुला गरिएको छ ।
दुई वटा रुट मात्रै सञ्चालनमा
निकुञ्जका अन्य रुटहरूमा मर्मत कार्य भइरहेकोले हाललाई तोकिएका दुईवटा मार्गमा मात्रै सफारी खुला गरिएको छ । पर्यटकहरूले निम्न रुटहरू प्रयोग गर्न सक्नेछन्:
१. मझगाउँ बाट बथनियाँ ताल, बाबा ताल, दुधिया क्याम्प र रानी ताल हुँदै सिंहपुर पुग्ने र सोही मार्गबाट फर्कने ।
२. मझगाउँ बाट पलियाफाँटा-हात्तीसार चोक हुँदै बरकोला पोष्ट सम्म पुग्ने र सोही मार्गबाट फर्कने ।
निकुञ्जको विशेषता
कुल ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ, जहाँ २ हजार ३ सय २३ भन्दा बढी बाह्रसिङ्गा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
यसबाहेक, निकुञ्जभित्रका ताल र नदी वरपर विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न सकिन्छ । निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार यहाँ ५६ प्रजातिका स्तनधारी, ४६१ प्रजातिका चरा, ५६ प्रजातिका घस्रने जन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा र १११ प्रजातिका पुतली पाइन्छन् ।


