तरुण खबर
२७ आश्विन २०८२, सोमबार ११:४२
काठमाडाैं, २७ असाेज । इजरायल र हमासबीच भएको बन्दी आदानप्रदान सम्झौताअनुसार गाजामा इजरायली बन्धकहरूको हस्तान्तरण प्रक्रिया केहीबेरमै सुरु हुने भएको छ । गत अक्टोबर ७, २०२३ को आक्रमणपछि हमासको नियन्त्रणमा रहेका ४८ जना इजरायली बन्धकहरूलाई रेडक्रसलाई जिम्मा लगाउन लागिएको हो, जसमध्ये २० जना जीवितै रहेको विश्वास गरिएको छ ।
रेडक्रसका गाडीहरू गाजाभित्र प्रवेश गरिसकेका छन् भने बन्धकहरूलाई लिनका लागि इजरायली हेलिकप्टरहरू गाजापट्टी बाहिर तयारी अवस्थामा छन् ।
हमासले रिहा गरिने बन्धकहरूको सूची सार्वजनिक गरेको छ । तर, लामो समयदेखि हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको नाम भने उक्त सूचीमा परेको छैन । उनको अवस्था अझै पनि अज्ञात रहेको छ ।
तेल अभिभमा आशा र राहतको माहोल
यस ऐतिहासिक घटनालाई लिएर इजरायलको तेल अभिभस्थित ‘होस्टेजेज स्क्वायर’ मा ठूलो संख्यामा मानिसहरू भेला भएका छन् । बन्धकहरूको रिहाइको खबरले इजरायलीहरूमा आशा र राहतको माहोल छाएको छ । एक जना स्थानीयले भने, “आज सबै इजरायलीहरू एकसाथ छन् ।”
प्यालेस्टिनी बन्दीहरू पनि रिहा हुँदै
यस बन्दी आदानप्रदान सम्झौताअनुसार इजरायलले पनि २५० प्यालेस्टिनी कैदीहरू र १,७०० भन्दा बढी थुनामा रहेका व्यक्तिहरूलाई रिहा गर्नेछ । बन्धकको सङ्ख्याको आधारमा इजरायलले ठूलो सङ्ख्यामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न लागेको हो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही घण्टाभित्रै इजरायल आइपुग्ने कार्यक्रम छ । उनी त्यहाँबाट इजिप्ट प्रस्थान गरी करिब २० जना विश्व नेताहरूसँग सम्बन्धित वार्तामा सहभागी हुनेछन् । ट्रम्पले यात्राको क्रममा ‘गाजामा युद्ध समाप्त भयो’ भनेर घोषणा गरे पनि, इजरायल–हमास सम्झौताका मुख्य चरणहरूमा भने अझै वार्ता हुन बाँकी रहेको बताइएको छ ।


