तरुण खबर
२७ आश्विन २०८२, सोमबार ११:४७
काठमाडाैं, २७ असाेज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफू मन्त्री पदमा बहाल रहँदा राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारी बजेट विनियोजन गर्नु अनैतिक हुने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा सक्रिय रहेका मन्त्री पुनले हालै वीरगञ्ज कृषि औजार कारखानाले निर्माण गरेको धान काट्ने मेसिनको परीक्षणको भिडियो शेयर गर्दै यस्तो धारणा राखेका हुन् ।
मन्त्री पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना आफू मन्त्री बनिसक्दा पनि सञ्चालनमै रहेको जानकारी दिएका छन् । उनले कारखानामा आवश्यक पर्ने आर्थिक स्रोत आफ्नो आत्मकथाको पुस्तक बिक्रीबाट उठेको रकम र शुभचिन्तकहरूको सहयोगबाट जुटाइएको उल्लेख गरेका छन् ।
फेसबुकमा मन्त्री पुनले लेखेका छन्, “म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले नै वीरगञ्ज कृषि औजार कारखाना चलाइरहेको छ । यसका लागि आर्थिक स्रोत मेरो आत्मकथाको पुस्तक बेचेर आएको पैसा र शुभचिन्तकहरूको सहयोगबाट जुटिरहेको छ ।”
उनले थप स्पष्ट पार्दै भनेका छन्, “म मन्त्री भएको अवस्थामा कारखानाका लागि बजेट छुट्याउनु मेरो लागि अनैतिक हुनेछ । यदि अघिल्लो सरकारले रकम छुट्याएको भए त्यो स्वीकार्य हुन्थ्यो, तर छुट्याएन । भविष्यमा आवश्यक परेमा अर्को सरकारले बजेट दिन सक्छ ।”
यसअघि पनि मन्त्री पुनले आफू मन्त्री भइसकेपछि आविष्कार केन्द्रलाई बजेट दिएमा त्यो भ्रष्टाचार हुने भन्दै बजेट नदिने अडान सार्वजनिक गरिसकेका थिए ।


