तरुण खबर
२७ आश्विन २०८२, सोमबार १२:५२
काठमाडाैं, २७ असाेज । इजरायली रक्षा बल (आईडीएफ) का अधिकारीले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएका छन्।
आईडीएफका अधिकारीले आज बिहान (इजरायलको स्थानीय समयअनुसार बिहान साढे ७ बजे) भिडियो कन्फरेन्स मार्फत यो दुःखद खबर दिएका हुन्। उक्त कन्फरेन्समा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर जोशी, र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरू सहभागी थिए।
राजदूत पण्डितले अनलाइनखबरसँगको कुराकानीमा “आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने,” भन्दै विपिनको निधन भएको पुष्टि भएको जानकारी दिए।
कञ्चनपुरका विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए। उनी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। सोही आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। हमास लडाकुहरूले विपिनलाई नियन्त्रणमा लिएर गाजापट्टी लगेका थिए।
विपिन सन् २०२३ नोभेम्बर १७ मा गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनको अवस्था अज्ञात थियो। उनको अवस्था पत्ता लगाउन नेपाल सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल पुगेर फर्किएका थिए।
आज युद्धविरामको पहल स्वरूप हमासको नियन्त्रणमा रहेका केही बन्दीहरू रिहा गर्ने कार्यक्रम रहे पनि रिहा गरिने २० जनाको सूचीमा विपिनको नाम छैन। विपिनको अवस्था सार्वजनिक गराउने कूटनीतिक प्रयास जारी रहे पनि कुनै प्रगति हुन सकेको थिएन।


