यसपालिको तिहारमा सुनको असर्फी नपाइने, राष्ट्र बैंकले चाँदीका मेडालियन मात्र बेच्ने

यसपालिको तिहारमा सुनको असर्फी नपाइने, राष्ट्र बैंकले चाँदीका मेडालियन मात्र बेच्ने तरुण खबर २८ आश्विन २०८२, मंगलवार ११:२०
यसपालिको तिहारमा सुनको असर्फी नपाइने, राष्ट्र बैंकले चाँदीका मेडालियन मात्र बेच्ने

काठमाडाैं, २८ असाेज । नेपाल राष्ट्र बैंकले यस वर्षको तिहार पर्वलाई लक्षित गरी सुनका असर्फी वितरण नगर्ने निर्णय गरेको छ। विगत वर्षहरूमा तिहारको अवसरमा सुनका असर्फी तथा सिक्का बिक्री वितरण गर्दै आएको केन्द्रीय बैंकले यसपालि चाँदीका मेडालियन मात्र बिक्रीमा ल्याउने भएको छ।

कहिलेबाट र कतिमा पाइन्छ?

राष्ट्र बैंकको टक्सार महाशाखाले सार्वजनिक गरेको सूचना अनुसार, असोज २६ गतेदेखि चाँदीका मेडालियनहरू बिक्रीमा आउनेछन्।

बिक्रीमा आउने मेडालियनहरूमा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको आकृति हुनेछ। प्रत्येक मेडालियनको तौल १० ग्राम हुनेछ र त्यसको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ।

खरिदका लागि अनिवार्य परिचयपत्र

केन्द्रीय बैंकका अनुसार, एक जना व्यक्तिलाई एक थान मात्रै मेडालियन खरिद गर्न दिइनेछ। मेडालियन खरिद गर्न आउने व्यक्तिले अनिवार्य रूपमा नागरिकताको फोटोकपी वा त्यसमा उल्लेखित नम्बर भएको वैध परिचयपत्र साथमा ल्याउनुपर्नेछ।