नेपालको आर्थिक वृद्धिदर घट्ने आईएमएफको प्रक्षेपण: ५.२ प्रतिशतमा सीमित

नेपालको आर्थिक वृद्धिदर घट्ने आईएमएफको प्रक्षेपण: ५.२ प्रतिशतमा सीमित तरुण खबर २९ आश्विन २०८२, बुधबार १०:५५
नेपालको आर्थिक वृद्धिदर घट्ने आईएमएफको प्रक्षेपण: ५.२ प्रतिशतमा सीमित

काठमाडाैं, २९ असाेज । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यसअघि गत अप्रिलमा कोषले नेपालको वृद्धिदर ५.५ प्रतिशत पुग्ने अनुमान गरेको थियो ।

आईएमएफले आफ्नो नयाँ ‘वल्र्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालभित्र देखिएका ‘जेन्जी आन्दोलन’ जस्ता गतिविधिहरूले आर्थिक गतिमा असर पारेको जनाएको छ ।

यसैबीच, आईएमएफको तुलनामा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई अझ बढी घटाएको बुझिएको छ ।

विश्व अर्थतन्त्रको अवस्था

विश्व अर्थतन्त्रतर्फ हेर्दा, आईएमएफले सन् २०२५ मा विश्वको ग्लोबल वृद्धिदर ३.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यसको मुख्य कारणको रूपमा अमेरिकाको ट्यारिफ नीतिलाई औंल्याइएको छ ।

आईएमएफका अनुसार, युरोप र एसियाली बजारहरूमा अनिश्चितता केही कम भए पनि व्यापार तनाव भने कायमै रहेको छ ।

आईएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभर गोरिन्चासका अनुसार अमेरिका–चीन व्यापार द्वन्द्व शान्त हुँदै गएकाले विश्व अर्थतन्त्रमा केही स्थायित्व देखिएको छ, तर दीर्घकालीन समाधान भने टाढा नै रहेको छ ।