बुद्ध एयरका प्रबन्ध निर्देशकसहित ३ जनाले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’: पेशागत राजनीति अन्त्य गर्ने दाबी

बुद्ध एयरका प्रबन्ध निर्देशकसहित ३ जनाले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’: पेशागत राजनीति अन्त्य गर्ने दाबी तरुण खबर ३० आश्विन २०८२, बिहीबार १४:२०
बुद्ध एयरका प्रबन्ध निर्देशकसहित ३ जनाले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’: पेशागत राजनीति अन्त्य गर्ने दाबी

काठमाडाैं, ३० असाेज । बुद्ध एयरका प्रबन्ध निर्देशक तथा व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहित तीन जनाको समूहले ‘गतिशील लोकतान्त्रिक पार्टी’ नामक नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गराएका छन्।

वीरेन्द्रबहादुर बस्नेत, दिनेश प्रसाईं र पियुश कायस्थको समूहले बिहीबार यो नयाँ दल दर्ता गराएको हो। पार्टीको अध्यक्षमा दिनेश प्रसाईं, महासचिवमा पियुश कायस्थ र सदस्यमा वीरेन्द्रबहादुर बस्नेत रहेका छन्। नयाँ पार्टी ‘सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ’ भन्ने नाराका साथ अघि बढेको छ।

पुरानो राजनीतिको विकल्प र पारदर्शिताको प्रतिबद्धता

पार्टीले गत भदौ २४ को ’जेन जेड आन्दोलन’ ले देखाएको जनअसन्तोषलाई सम्बोधन गर्दै वर्तमान राजनीतिलाई वैकल्पिक दिशा दिन नयाँ पार्टी उदाएको आह्वान पत्रमा उल्लेख गरेको छ। पार्टीले राजनीतिलाई पेशा बनाउने प्रवृत्तिको अन्त्य गरी नागरिक–केन्द्रित, पारदर्शी र जवाफदेही शासन प्रणालीको खाका अघि सारेको छ।

पार्टीका प्रमुख प्रतिबद्धताहरू:

  • एक व्यक्ति एक पद र दुई कार्यकालको सीमा लागू गर्दै राजनीतिमा दीर्घकालीन बसोबासको परम्परा तोड्ने लक्ष्य।
  • पार्टीको आम्दानी र खर्चको विवरण अनलाइनमा सार्वजनिक गरिने।
  • प्रत्येक गतिविधिमा डिजिटल पारदर्शिता अपनाइने।
  • २० प्रतिशतभन्दा कम मत पाएमा सरकारमा सहभागी नहुने अडान।
  • सार्वजनिक पद र पार्टी पदमा फरक व्यक्ति रहने व्यवस्था।

सुशासन र उद्यमशीलतालाई जोड

नयाँ दलले विधिको शासन लाई लोकतन्त्रको मेरुदण्ड मान्दै यो नेता, कर्मचारी, व्यापारी सबैलाई समान रूपमा लागू हुनुपर्ने अडान लिएको छ।

पार्टीले उद्यमशीलता र निजी क्षेत्रलाई अर्थतन्त्रको खम्बा मानेको छ। स्वरोजगार सिर्जना गर्ने, कर तिर्ने र राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्यमीहरूलाई सम्मान र संरक्षण गरिने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ।

पार्टीले तिहारलगत्तै विस्तृत घोषणापत्र र कार्यक्रमहरू सार्वजनिक गर्दै राष्ट्रिय बहसको वातावरण बनाउने तयारी गरेको छ।

जनताको विश्वास गुमाउँदै गएका पुराना दलहरूका सामु यो नयाँ दलले विकल्प खोजिरहेका मतदातालाई आकर्षित गर्न सक्ने अनुमान गरिएको छ।