तरुण खबर
३० आश्विन २०८२, बिहीबार १४:२५
काठमाडाैं, ३० असाेज । ‘जेनजी आन्दोलन’का क्रममा भएको आगजनीबाट क्षतिग्रस्त काठमाडौं जिल्ला अदालतको कामकारबाही प्रभावित हुन नदिन वैकल्पिक व्यवस्था गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले अदालतको सेवा सुचारु राख्नका लागि आफ्नो बबरमहलस्थित कार्यालय भवनको एक भाग अस्थायी रूपमा प्रयोग गर्न दिने सहमति जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार बसेको संयुक्त बैठकमा प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालत प्रतिनिधिमण्डलबीच उक्त सहमति भएको हो।
अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतको दैनिक सेवा अवरुद्ध नहोस् भनेर वैकल्पिक भवनको प्रस्ताव राखेका थिए। उनको प्रस्तावमा प्रधानमन्त्री कार्कीले तत्काल सम्बोधन गर्न निर्देशन दिएकी थिइन्।
सहमति अनुसार, अदालत भवनको पुनर्निर्माण सम्पन्न नभएसम्मका लागि सर्तसहित प्राधिकरणको भवन प्रयोग गर्न दिइनेछ। यो व्यवस्थाले क्षतिग्रस्त अदालतको सेवालाई तत्काल सुचारु गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


