माओवादी नेता गणेश शाहद्वारा पार्टी परित्याग: ‘एकताको सन्देश नपाएको’ आरोप

माओवादी नेता गणेश शाहद्वारा पार्टी परित्याग: ‘एकताको सन्देश नपाएको’ आरोप तरुण खबर ३० आश्विन २०८२, बिहीबार १४:३७
माओवादी नेता गणेश शाहद्वारा पार्टी परित्याग: ‘एकताको सन्देश नपाएको’ आरोप

काठमाडाैं, ३० असाेज । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता गणेश शाहले पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टीको केन्द्रीय समिति विघटन हुनुअघि सचिव पदमा रहेका शाहले पार्टी नेतृत्वले ‘एकताको सन्देश’ प्रवाह गर्न नसकेको भन्दै असन्तुष्टि प्रकट गरेका छन्।

पूर्व विज्ञानमन्त्री समेत रहेका शाहले एक अन्तर्वार्ताका क्रममा आफू अब माओवादी केन्द्रको नेता र सदस्यसमेत नरहेको स्पष्ट पारेका छन्।

राजनीतिबाटै अवकाशको घोषणा

पार्टी परित्यागसँगै नेता शाहले राजनीतिबाटै पूर्ण अवकाश लिने घोषणा गरेका छन्। ७५ वर्ष पुगिसकेको र हालैको ‘जेनजी आन्दोलन’ को सकारात्मक भावनालाई ध्यानमा राख्दै आफूले यो निर्णय लिएको उनले बताएका छन्। उनले आफू अब कुनै पनि राजनीतिक दलमा संलग्न नहुने घोषणा समेत गरेका छन्।

शाहले २०७४ सालमा आफू नेतृत्वको नेकपा (संयुक्त) लाई माओवादी केन्द्रमा विलय गराएका थिए। एकताको लामो प्रक्रियाबाट माओवादीमा आएका एक वरिष्ठ नेताको यो बहिर्गमनलाई पार्टीभित्रको आन्तरिक असन्तुष्टिको रूपमा हेरिएको छ। शाहले पार्टी सामूहिक नेतृत्वभन्दा बढी एकल नेतृत्व तिर गएको र वैचारिक दिशाहीनता देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।