तरुण खबर
३१ आश्विन २०८२, शुक्रबार ०९:५७
काठमाडाैं, ३१ असाेज । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगहरूले नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी रहेको प्रिमियम महसुलको बक्यौता रकम तिर्न सुरु गरेका छन्। किस्ता तिर्न छाडेका केही उद्योगहरूले पछिल्लो समयमा फेरि किस्ता तिर्न थालेका हुन्।
सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले बक्यौता रकमको किस्ता बुझाएका छन्। यी उद्योगहरूले पहिले किस्ताबन्दीको सुविधा लिएर बक्यौता तिर्न थाले पनि गत वैशाखदेखि किस्ता तिर्न छाडेका थिए।
सम्राट सिमेन्टले बुझायो ४० लाखभन्दा बढी
सम्राट सिमेन्टले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको कुल ३ करोड ७७ लाख रुपैयाँ थप महसुल तिर्न बाँकी थियो। यसका लागि उद्योगले प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँ हुने गरी २८ मासिक किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो।
चार किस्ता बुझाएपछि गत वैशाखदेखि किस्ता तिर्न छाडेको सम्राट सिमेन्टले हाल एकैपल्ट तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ बुझाएर जेठसम्मको किस्ता चुक्ता गरेको छ।
प्राधिकरण, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख दीपक गौतमका अनुसार, स्वीकृत किस्ता सुविधाबमोजिम गत असारबाट असोजसम्म ११ किस्ता बुझाउनु पर्नेमा उद्योगले सात किस्ता मात्र बुझाएको छ। बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुन: पत्राचार गरिएको र उद्योगले उक्त रकम तिरी बाँकी किस्ता नियमित रूपमा तिर्ने बताएको छ।
रोल्पा र नव नेपालको पनि भुक्तानी
त्यसैगरी, रोल्पा सिमेन्टको ९९ लाख १२ हजार रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँ हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति दिइएको थियो। ६ किस्ता तिरेपछि रोकेको उद्योगले हाल पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरेर किस्ता नियमित गरेको छ। अब उद्योगले १७ किस्ता तिर्न बाँकी छ।
यता, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले भने १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर आफ्नो सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको प्राधिकरणले जनाएको छ।


